जाडोमा छाला र कपालको हेरचाह कसरी गर्ने?
जाडो सुरु भयो है! चिसो हावा चल्न थालेपछि हाम्रो छालाको पनि हेरचाह गर्ने तरिका बदल्नुपर्छ। यो मौसममा छाला सुख्खा हुने, फुस्रो देखिने र चिलाउने समस्या धेरैलाई हुन्छ। कतिपयलाई त एक्जिमा वा सोरायसिस जस्ता समस्याले झन् सताउँछ।
चिसो हावा र सुख्खा वातावरणले छालाको नमी सोस्छ। त्यसैले छाला फाट्ने वा कडा हुने हुन सक्छ। तर चिन्ता नलिनुहोस्, केही सजिला उपाय अपनाएर जाडोमा पनि छालालाई स्वस्थ राख्न सकिन्छ।
जाडोमा छालालाई यसरी जोगाउनुहोस्:
१. पानी पिइरहनुहोस्: जाडोमा हामीलाई प्यास कम लाग्छ, तर शरीरलाई पानी उति नै चाहिन्छ। पानीले छालालाई भित्रैबाट नरम र स्वस्थ राख्न मद्दत गर्छ।
२. नुहाउँदा ध्यान दिनुहोस्: धेरै तातो पानीले नुहाउनु हुँदैन। तातो पानीले छालाको प्राकृतिक तेल (नमी) लाई पखालिदिन्छ। त्यसैले, मनतातो पानीले छिट्टै नुहाउनु राम्रो हो।
३. मोइश्चराइजर नछुटाउनुहोस्: नुहाइसकेको २-३ मिनेटभित्रै (छाला हल्का चिसो छँदै) राम्रो मोइश्चराइजर लगाइहाल्नुपर्छ। यसले छालाको नमीलाई भित्रै 'लक' गरेर राख्छ।
४. साबुनको छनोट: छालालाई झन् सुख्खा बनाउने कडा साबुनको सट्टा, ग्लिसरिन भएको वा मोइस्चराइजरयुक्त नरम साबुन प्रयोग गर्नुहोस्।
५. खानपानमा ध्यान दिनुहोस्: तपाईंको छालालाई भिटामिन E, C, जिंक र ओमेगा-३ चाहिन्छ। त्यसैले हरियो सागपात, फलफूल, माछा, बदाम र प्रोटिनयुक्त खानेकुरा आफ्नो खानामा समावेश गर्नुहोस्।
६. घामबाट बच्नुहोस्: जाडोमा घाम ताप्न रमाइलो लाग्छ, तर जाडोको घाममा पनि हानिकारक UV किरणहरू हुन्छन्। बाहिर निस्कँदा सनस्क्रिन लगाउन नबिर्सनुहोस्।
७. ओठको विशेष हेरचाह: ओठ फुट्ने समस्या छ भने लिप बाम वा पेट्रोलियम जेली नियमित लगाउनुहोस्। धेरैको ओठ सुख्खा हुँदा जिब्रोले चाट्ने बानी हुन्छ, यसो गर्दा ओठ झन् फुट्छ।
८. न्यानो लुगा: बाहिर निस्कँदा मफलर, टोपी वा पञ्जा लगाएर आफ्नो अनुहार र हातलाई चिसो हावाबाट जोगाउनुहोस्।
कपालको हेरचाह पनि जरुरी छ:
जाडोले कपाललाई पनि सुख्खा, फुस्रो र रुखो बनाउँछ।
हप्तामा एक वा दुई पटक मात्र मनतातो पानीले कपाल धुनुहोस्। धेरै तातो पानी कपालको लागि राम्रो होइन।
कडा केमिकल भएको स्याम्पुको सट्टा नरम (माइल्ड) स्याम्पु प्रयोग गर्नुहोस्।
कपाल धोएपछि नरम कन्डिसनर लगाउँदा कपालमा नमी रहिरहन्छ।
टोपी लगाउँदा कपाल बिग्रिन्छ कि जस्तो लाग्छ भने, भित्रपट्टि नरम कपडा (अस्तर) भएको टोपी छान्नुहोस्। बेलाबेला तेलले मसाज गर्दा रगत सञ्चार राम्रो भई कपाल स्वस्थ हुन्छ।
अन्त्यमा, एउटा सानो टिप:
घरभित्र हिटर वा आगो ताप्दा कोठाको हावा सुख्खा हुन्छ। यसले पनि छालालाई असर गर्छ। त्यसैले, कोठामा एक कचौरा पानी राख्ने वा ह्युमिडिफायर (Hmidifier) को प्रयोग गर्दा राम्रो हुन्छ। साथै, हल्का व्यायाम गर्दा शरीरमा रगतको प्रवाह राम्रो हुन्छ, जसको चमक तपाईंको छाला र कपाल दुवैमा देखिन्छ।
थोरै मात्र ध्यान दिँदा जाडोमा पनि तपाईंको छाला र कपाल स्वस्थ र चम्किलो रहन सक्छ!