वीरगञ्ज, असार ११ — नारायणी अस्पतालको छाला तथा यौनरोग (डर्मेटोलोजी) विभागले विश्व भिटिलिगो (सेतो दुवी) दिवस २०२६ को अवसरमा विशेष सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको मुख्य उद्देश्य दुवी रोगका बारेमा समाजमा व्याप्त अन्धविश्वास, भ्रम तथा सामाजिक विभेद हटाई बिरामीहरूलाई सही चिकित्सा जानकारी, परामर्श र ऐक्यबद्धताको सन्देश प्रवाह गर्नु रहेको थियो।
यस वर्षको विश्वव्यापी नारा "World of Many Colors: Every Shade is Beautiful — Embrace the Beauty of Vitiligo" अर्थात् "विविध रङहरूको संसार छ, हरेक रङ सुन्दर छ — दुवीको सौन्दर्यलाई स्वीकार गरौँ लाई आत्मसात् गर्दै अस्पतालले दुवी भएका व्यक्तिप्रति सम्मान, आत्मविश्वास र गुणस्तरीय उपचारमा जोड दिएको जनाएको छ।

छालारोग (सेतो दुवी) छोएर सर्दैन: चिकित्सकहरूद्वारा प्रत्यक्ष प्रयोगात्मक सन्देश
नारायणी अस्पतालका छालारोग विशेषज्ञ डा. रोहित गुप्ताले एक वृद्ध दुवी भएका बिरामीको हातमा रहेको सेतो दुवी (भिटिलिगो प्रभावित छाला) लाई कुनै पञ्जा नलगाई प्रत्यक्ष स्पर्श गर्नुभयो। यस प्रदर्शनमार्फत चिकित्सकहरूको टोलीले दुवी छोएर, हात मिलाउँदा वा सामान्य सम्पर्कबाट सर्ने रोग नभएको स्पष्ट वैज्ञानिक सन्देश दिएको थियो।
चिकित्सकहरूका अनुसार यस्तो व्यवहारिक प्रदर्शनको उद्देश्य दुवी भएका व्यक्तिहरूमाथि हुने सामाजिक विभेद, डर र एक्लोपनको अन्त्य गर्दै समाजमा अपनत्व र सम्मानको भावना अभिवृद्धि गर्नु हो।